पर्यटन खबर

स्काइ वाक टावर सञ्चालनपछि व्यवसायी उत्साही

११ श्रावण २०८१, शनिबार ०८:३२

काठमाडौँ। पर्यटकीय नगरी भेडेटारमा स्काइ वाक टावर सञ्चालनमा आएपछि धनकुटाका होटल व्यवसायीहरू उत्साहित बनेका छन् ।

वोन्डर्स एम्युजमेन्ट पार्कस् एन्ड एट्रयाक्सन्स प्रालिले धनकुटा साँगुरीगढी गाउँपालिका–६ मा ११ रोपनी  क्षेत्रफलमा २० करोड रुपैयाँ लगानीमा स्काइ वाक टावर सञ्चालनमा ल्याएको हो ।

टावर सञ्चालनमा आएसँगै यहाँको पर्यटकीय गतिविधि बढ्नेमा यहाँका पर्यटन व्यवसायीहरू आशावादी बनेका छन् । होटल सङ्घ भेडेटारका अध्यक्ष तुमराज लिम्बुले टावर सञ्चालनपछि पर्यटकीय गतिविधि चलायमान हुने विश्वास व्यक्त गरे । ‘टावरको उद्घाटनमा पनि पर्यटकको आगमन बढेको छ, अब यहाँका होटलको व्यापार सुधार हुने अपेक्षा लिएका छौँ’, उनले भने ।

लामो समयदेखि होटल व्यवसायमा संलग्न होटल अरुण टपका सञ्चालक रमेश श्रेष्ठले होटलको व्यापारसँगै यस क्षेत्रको कृषि उपज बेचबिखनमा समेत सहयोग पुग्ने बताए ।

होटल सङ्घका भेडेटारका पूर्वअध्यक्ष तथा होटल लावती कर्नरका सञ्चालक लिलाराज लावतीले पनि यहाँ सञ्चालित एक सयभन्दा बढी ठूला होटललाई यस परियोजनाले महत्वपूर्ण सहयोग पुग्ने बताए ।