होटल खबर

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्यटनको आगमन बढ्यो

५ श्रावण २०८१, आईतवार ०९:२९

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढेको छ । आर्थिक वर्ष २०८०/८१ मा मा तीन लाख ६ हजार आठ सय ३७ पर्यटकले निकुञ्जको भ्रमण गरेका छन् ।

यो संख्या अहिलेसम्मकै उच्च भएको निकुञ्ज अधिकारी बताउँछन् । गत आर्थिक वर्षमा ३ लाख ६ हजार ८ सय ३७ जनाले चितवन निकुञ्ज घुमेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जनाए ।

अघिल्लो आर्थिक वर्षमा यो सङ्ख्या दुई लाख ९९ हजार चार सय १२ रहेको थियो । निकुञ्जले यो सङ्ख्या नै हालसम्मको उच्च रहेको जनाएको थियो । त्यो तथ्याङ्कलाई पार गर्दै गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षकोभन्दा सात हजार चार सय २५ बढी पर्यटक निकुञ्ज भित्रिएका हुन् ।

तिवारीका अनुसार गत आर्थिक वर्षमा नेपाली एक लाख ७६ हजार तीन सय १६ भित्रिएका थिए । अघिल्लो आर्थिक वर्षमा नेपालीको सङ्ख्या दुई लाख पाँच हजार छ सय पाँच थियो ।

यसैगरी गत आर्थिक वर्षमा सार्क मुलुकका ३६ हजार चार सय ७१ र अघिल्लो आर्थिक वर्षमा ३७ हजार नौ सय ३५ पर्यटक भित्रिएका थिए । यस्तै अन्य मुलुकका विदेशी पर्यटक गत आर्थिक वर्षमा ९४ हजार ५० र अघिल्लो आर्थिक वर्षमा ५५ हजार आठ सय ७२ भित्रिएका थिए ।