काठमाडौं । सिद्धार्थ हस्पिटालिटी अन्तर्गत सिद्धार्थ इन्टरनेसनल होटल लिमिटेडले कुल जारी पुँजीको १० प्रतिशत सेयर सर्वसाधारणमा प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।
कम्पनीले आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ । सिद्धार्थ ग्रुपअन्तर्गतको आइपिओ जारी गर्न लागेको कम्पनी ‘सिद्धार्थ इन्टरनेशनल होटल लिमिटेड’अन्तर्गत बौद्धस्थित चारतारेस्तरीय सिद्धार्थ बुटिक होटल र रुपन्देहीको भैरहवास्थित पाँच तारे सिद्धार्थ भिलासा सञ्चालनमा छन् ।
मंगलबार बिहान सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका अध्यक्ष चिन्तामणि (लक्ष्मण) न्यौपाने र मुक्तिनाथ क्यापिटलका तर्फका प्रमुख कार्यकारी अधिकृत (सीइओ) कविन्द्रध्वज जोशीले हस्ताक्षर गरे ।
सिद्धार्थ हस्टिपालिटीअन्तर्गत पाँच तारे स्तरमा सिद्धार्थ भिलासा, चार तारे स्तरमा सिद्धार्थ वैभव र तीन तारे स्तरमा सिद्धार्थ बाटिका ब्रान्डका साथै हस्पिटालिटी एजुकेसन, रेस्टुरेन्ट, कटेज, क्याफे, कृषि फार्म, ट्रेडिङ, आईटी लगायत दुई दर्जनभन्दा बढी कम्पनी सञ्चालनमा छन् ।