ट्रेन्डिङ

पाहुना चरालाई वार्षिक ५० लाखको माछा खुवाउँदै रुपाताल

१७ असार २०८१, सोमबार १५:१४

गण्डकी । पर्यटकीय राजधानी पोखरा केबल मानव समुदाय घुम्ने पर्यटकीय गन्तव्य मात्रै होइन यो त स्वदेश एवं विदेशका चरा पनि घुम्ने र विचरण गर्ने स्थल हो ।

तालैतालको सहरको उपमा पाएको पोखरामा नौ ताल रामसार सूचीमा समेत सूचीकृत भइसकेका छन् । यिनै तालतलैयाका कारण पोखरा चरा पर्यटनका लागि पनि आकर्षक गन्तव्य बनेको छ । पोखराका तालतलैयामा बर्सेनि झण्डै तीन सय प्रजातिका विदेशी चरा चीन, साइबेरिया लगायतका देशबाट आउने गरेको पोखरा पन्छी समाजका अध्यक्ष मनशान्त घिमिरेले बताए ।

प्रत्येक वर्षको हिउँद र वर्षात्का समयमा छुट्टाछुट्टै प्रजातिका चरा पोखराका तालतलैयामा देखिने गरेको उनले जानकारी दिए। “विशेषगरी हिउँदको समयमा सिकारी प्रजातिका चरा पोखराका तालतलैयामा देख्न सकिन्छ, वर्षात्को समयमा कोइली प्रजातिका चरा देख्न सकिन्छ”, उनले भने, “साइवेरियालगायत टाढाटाढा विदेशी मुलुकबाट आएका चरा केही समय बिताएर फर्कने गरेका छन्।”

पोखराका रामसार सूचीमा सूचीकृत तालमध्येको एक रुपाताल पनि हो। सुन्दा अचम्म लाग्न सक्छला तर, रुपातालले बर्सेनि झण्डै ५० लाख बराबरका माछा विदेशी चरालाई खुवाउँदै आएको छ।

साविक लेखनाथ नगरपालिका-१०, ११ र १४ का केही भागले छोएको यस तालमा प्रत्येक वर्षको हिउँदमा आउने जलेवालगायत प्रजातिका चराले ५० लाखभन्दा बढीको माछा खाएर जाने गरेको रुपाताल पुनःस्थापना तथा मत्स्यपालन सहकारी संस्थाका अध्यक्ष शिवप्रसाद अधिकारीले बताए।

“विशेषगरी पुस माघको समयमा करिब तीन महिना साइबेरियालगायत स्थानबाट रुपातालमा आउने करिब दुई सय ५० सङ्ख्याका जलेवाको आहारा माछा नै हो”, उनले भने, “सामान्यतः एउटा जलेवाले दिनभरिमा आधा किलोसम्म माछा खाने गर्दछ।”