© 2023-2024 सर्वाधिकार सुरक्षित hotelkhabar.com
धरान । धरानमा विमानस्थल नबन्ने भएको छ । भौगोलिक, प्राविधिक र नीतिगतरुपमा सम्भव नहुने भएको हो । यो सँगै धरानमा विमानस्थल बनाउने पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको चाहनामा ठेस लागेको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले गठन गरेको कार्यदलले धरानमा विमानस्थल बनाउन भौगोलिक, प्राविधिक र नीतिगतरुपमा सम्भव नरहेको बताएपछि किरातीको चाहनामा ठेस लागेको हो।
कार्यदलका सदस्यले बुधबार मन्त्रालय पुगेर मन्त्री किरातीलाई स्पष्टरुपमा धरानमा प्रस्तावित ठाउँमा धावन मार्ग बनाउनै नपुग्ने बताएका छन्।
‘समितिले भन्यो, १ हजार २ सय मिटरको धावन मार्गमा जहाज उडाउन सम्भव हुँदैन। साना जहाज उडाएर विमानस्थल सञ्चालन गर्न पनि सकिंदैन।
धरानमा १ हजार ५ सय मिटरको धावन मार्ग बनाउन ठाउँ नै छैन,’ कार्यदलका सदस्यलाई उद्यृत गर्दै प्राधिकरणका एक उच्च अधिकृतले भने, ‘कार्यदलले साना जहाज उडाएर विमानस्थल नचल्ने र एटीआर(७२ सिरिजका जहाज उडानका लागि धावन मार्ग बनाउन जग्गा नै अपुग रहेको बताएको छ।’
उनीहरुले डाँडाघोपामा विमानस्थल बनाउन भौगोलिकरुपमा जोखिमपूर्ण रहेको निष्कर्ष सुनाएका छन्।