ट्रेन्डिङ

आन्तरिक पर्यटकको रोजाइमा गोदावरीको हाटखोली

७ जेष्ठ २०८१, सोमबार १६:००

कैलाली । कैलालीको गोदावरी नगरपालिका–४ मा रहेको हाटखोली क्षेत्र आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ ।

धनगढी–दीपायल द्रुत मार्गअन्तर्गत चुरे फेदमा रहेको हाटखोली तराईको गर्मी छल्न जाने आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको हो ।बालबच्चासहित हाटखोली पुगेका धनगढी उपमहानगरपालिका–६ मटियारीका खेमराज पाठकले तराईको गर्मी छल्न परिवारसहित यहाँ आएको बताए ।

हाटखोली भएर बग्ने खुटिया नदीमा नुहाउन र यहाँको प्राकृतिक सुन्दरतासँग रमाउन उनी जस्तै धेरै मानिसहरू यहाँ आउने गरेका छन् ।हाटखोली आएर पौडी खेलेका तस्बिर फेसबुकमा थुप्रै हेरेको थिए । तस्बिरमा यहाँको प्राकृतिक सौन्दर्यता हेर्दा मोहित बनायो”, उहाँले भन्नुभयो, “यही पुगेर पौडी खेल्दा खुबै आनन्द आउँदो रहेछ । ठाउँ पनि रमणीय छ ।”

गर्मी छल्नमात्र नभई पिकनिक ९वनभोज० खान, त्यहाँको प्राकृतिक र जैविक विविधताको अवलोकन, मन्दिरमा दर्शन गर्न पनि मानिसहरू हाटखोलीमा पुग्ने गर्छन् । अन्य दिनको तुलनामा शनिबार बढी भीड हुने गरेको छ ।

चुरे गाउँपालिका–४ र गोदावरी नगरपालिका–४ जोड्ने झोलुङ्गे पुल पनि पर्यटकको मुख्य रोजाइ बन्ने गरेको चुरे गाउँपालिका–४ का स्थानीय हेमराज विष्ट बताउनुहुन्छ । पछिल्लो सयम त्यहाँ पुगेर सेल्फी खिच्ने, टिकटक बनाउनेको सङ्ख्यामा पनि उल्लेख्य वृद्धि भएको छ । उहाँको ग्वाला देउ मन्दिर पनि धार्मिक पर्यटकको प्रमुख रोजाइमा पर्न थालेको उनले बताए ।