ट्रेन्डिङ

पर्यटक लोभ्याउँदै अमलटारी मध्यवर्ती होमस्टे

१३ जेष्ठ २०८१, आईतवार ०४:२४

नवलपुर । अमलटारी मध्यवर्ती सामुदायिक होमस्टेको स्थापना भएको १० वर्ष पुगेको उपलक्ष्यमा पुरै गाउँलाई नै होमस्टेको रुपमा विकास गरिएको हो ।

अमलटारी मध्यवर्ती सामुदायिक होमस्टेले आयोजना गरेको एक समारोहमा गण्डकी प्रदेशसभा सदस्य पद्मा जिसी श्रेष्ठले बाघखोर गाउँलाई अमलटारी मध्यवर्ती सामुदायिक होमस्टे भिलेज घोषणा गरेकी हुन् ।

होमस्टे भिलेज घोषणासँगै सन् २०३५ सम्म रणनीतिक योजना लागू गरेर एक घर एक रोजगार, सतप्रतिशत साक्षरता र दिगो गाउँ विकासको लक्ष्य तय गरिएको छ । २०७० सालमा स्थापना हुँदा थारु र बोटे समुदायको १८ वटा होमस्टे रहेको गाउँमा अहिले ३५ वटा होमस्टे भएको छ ।

वरपरका मान्छे मर्दा जलाउने, गाड्ने काम हुन्थ्यो नवलपरासीको बाघखोरमा । थारु, मुसहर बोटे जातिका मानिसहरुको सघन बसोवास रहेको यो क्षेत्र आफैंमा पिछडिएको थियो । वनमा जाने, घाँस दाउरा गर्ने, मेलापात गर्ने दैनिकी थियो ।

कावासोती नगरपालिकाको वडा नम्बर १५ स्थित अमलटारी होम स्टेमा पुग्ने पर्यटकहरु कला, संस्कृति, स्थानीय रहनसहन र खानाको परिकारको स्वादमा रमाउने गरेका छन् । दैनिक रुपमा घरायसी कार्य सकेर यहाँका महिलाहरुको सक्रियतामा नै होम स्टे सञ्चालन भएको हो । अग्यौलीका थारू, बोटे र मुसहर समुदायले गुद्रहीढकाहा मध्यवर्ती सामुदायिक वनको संरक्षण गरेर सोही वनलाई पर्यटन क्षेत्रको बनाइ होमस्टे शुरू गरेका हुन् ।

केहि समय अघिसम्म उजाड रहेको सो सामुदायिक बनलाई अहिले अग्यौलीवासीले संरक्षण गरेर हराभरा बनाएका छन् । होम स्टे राखेको कारणबाट नै वन्यजन्तुको बासस्थान समेत सुरक्षित बन्दै गएको छ । गैंडा, बाघ, भालु, जरायो जस्ता वन्यजन्तुहरु समेत होम स्टे मा पुग्ने पर्यटकहरुले अवलोकन गर्न पाएका छन् ।