© 2023-2024 सर्वाधिकार सुरक्षित hotelkhabar.com
काठमाडौँ। धरानको ओशो पार्कमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । यतिखेर ओशो पार्कमा विभिन्न रङ्गीचङ्गी फूलहरू फूलेका छन् ।
पार्कमा प्रवेश गर्नका लागि शुल्क रु १० तोकिएको छ । पार्कमा विभिन्न किसिमका चित्रात्मक ढुङ्गाहरू देख्न सकिन्छ । उक्त ढुङ्गामा चितुवा, अजिंगर, हाँसलगायत कलाकृत्रिहरू देख्न सकिन्छ । यसले पनि धरानको आन्तरिक पर्यटकहरूलाई आकर्षित गरिरहेको छ ।
भानुचोकबाट करिब छ किमीमाथि निर्मित उक्त पार्क नजिकै श्रमदानबाट बनाइएका एसडिबी, रकगार्डेन, बिपीलगायत दर्जनौँ पार्क छन् । वरिपरिको हरियाली वातावरणमा ढकमक्क फूलले ढाकेको ठाउँ आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक केन्द्र बनेको छ ।
पहिले उजाड र सुनसान जङ्गल जस्तै लाग्ने यो ठाउँमा अहिले पर्यटकको चहलपहल निकै हुन थालेपछि व्यवसायी पनि खुसी भएका छन् । अहिले यो पार्क आसपासमा दर्जनौँ होटल सञ्चालित छन् । दिनमा चारदेखि, पाँच सयसम्मको हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटक घुम्न आउने गरेका छन् ।
ओशो पार्कमा मनमोहक दृश्यावलोकनका लागि दैनिकजसो ठूलो सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन्। अरु दिनभन्दा सार्वजनिक बिदा तथा शनिबार अन्य समयभन्दा बढी पर्यटक यहाँ घुम्न आउने गर्छन् । पार्कलाई रमणीय र आकर्षित बनाउन भौतिक पूर्वाधारका काम भइरहेका छन् ।
घुम्न आउने पर्यटकका लागि घुम्ने स्थल बूढासुब्बा मन्दिर, दन्तकाली, विजयपुर पछिको ओशो पार्क, (बिपी पार्क) सँगै यस क्षेत्रमा दर्जनौँ पार्क बनिसकेकाले यहाँको पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुगेको छ।