ट्रेन्डिङ

पर्यटकको आकर्षण बन्दै महसिकार

२ जेष्ठ २०८१, बुधबार ०६:०८

म्याग्दी। म्याग्दीको थाइवाङ ठाडो भिरपहरामा हुने महसिकार हेर्दा जति डरलाग्दो छ, सिकार गर्न पनि उत्तिकै जोखिमपूर्ण छ । तर, निडर महसिकारीहरू आफ्नो ज्यानको बाजी लगाउँदै भिरपहरामा महसिकार गर्न रमाउँछन् ।

म्याग्दीका विभिन्न पर्यटकीय सम्पदाले बर्सेनि हजारौँ आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गरिरहेका छन् । अक्करे भिरमा जोखिम मोलेर गरिने महसिकार वसन्तयाममा धवलागिरि चक्रीय, गुर्जा र ढोरपाटन क्षेत्रको भ्रमणमा आउने पर्यटकका लागि आकर्षण बनेको छ”, उनले भने, अत्यधिक माग हुने भिरमह बिक्री गरेर सिकारीहरूले केही रकम आर्जन पनि गरेका छन्।

केही दिनअघि मङ्गला गाउँपालिका–१ थाइवाङको भिरमा तीन सय लिटर मह निकालेका धवलागिरि गाउँपालिका–२ खोरियाका मोतिप्रसाद पाइजाको १० जनाको टोलीले मङ्गलबार खोरियाको महभिरमा ३० लिटर मह उत्खनन गरेको छ।

स्वाँतमा लोकबहादुर पाइजाको टोलीले ७० लिटर मह निकालेको जनाएको छ। स्वाँतको भिरमा आज पनि महसिकारलाई निरन्तरता दिइने भएको छ। धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले महसिकार गरेर गाउँका बेरोजगारलाई रोजगारी र आयआर्जनको अवसर मिलेको बताए।

एउटा महसिकार टोलीमा कम्तीमा १० जना सहभागी हुन्छन्। म्याग्दीका महसिकारीलाई कास्की, बागलुङबाट पनि ज्याला दिएर बोलाउने गरेका छन्। भिरमा मौरीले लगाएका गोला काट्नका लागि मह सिकारी डोरी (पराङ)मा झुण्डिएर मह निकालिने खोरियाको मह सिकारी टोलीका सदस्य सबहादुर चोचाङ्गी पुनले बताए।

स्वादिलो, स्वास्थ्यका लागि हितकर र शक्तिप्रवर्द्धक हुनुका साथै धार्मिक कार्यका लागि प्रयोग हुने मह भिरबाट ननिकाल्दै अग्रिम पैसा दिएर ग्राहकले खरिद गर्ने गरेका अन्नपूर्ण–५ स्वाँतका महसिकारी लोकबहादुर पाइजाले बताए।