होटल खबर

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

८ बैशाख २०८१, शनिबार १३:११

दमौली । नुवाकोटको विदुर नगरपालिका–११ वासुदेव अवस्थीलाई पहिलोपटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो । मुक्तिनाथ जान हिँडेका ४० जनाको टोलीले तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहराको एक घण्टा अवलोकन गरेको थियो ।

अवस्थीले भने, ‘ढुङ्गामा आकृति बनाएर पर्यटकीयस्थल बनाउने गाउँपालिकाको योजना निकै राम्रो लाग्यो। ढुङ्गामा खोपिएका आकृति हेर्दा मान्छेसँग बोल्लान् झैँ लाग्ने खालको रहेछ।’

राजमार्गमा यात्रा गर्दा थकाइ मार्ने स्थानको रुपमा विकास भइरहेको रहेछ’, अवस्थीले भने, ‘यस ठाउँको अझ प्रचारप्रसार गर्नका लागि सबैले सहयोग गर्नुपर्छ ।’ प्राकृतिक रुपमा रहेका ढुंगालाई कालीगढले मेहनत गरेर आकृति बनाउँदा यस ठाउँकोस्वरुप नै बद्लिएको उनको भनाइ छ ।

ऐनापहरामा स्वदेशीका अतिरिक्त विदेशी पर्यटकको समेत आवागमन हुन थालेको छ । फ्रान्सबाट आएकी एक पर्यटकले ऐनापहरा निकै आकर्षक बनेको बताइन् । उनले भनिन्, ‘एकैछिन घुम्दा यहाँको वातावरणले लोभ्यायो । यहाँ बनाइएका संरचना मनमोहक छन् ।’

ऐनापहरालाई पर्यटकीय गन्तव्यस्थल बनाउने उद्देश्यसहित गाउँपालिकाले यहाँ रहेका ढुंगामा आकृतिक खोपेपछि पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास हुन थालेको हो । यहाँ दैनिक २ सय भन्दा बढी पर्यटक घुम्न आउने गरेका छन् ।

पृथ्वीराजमार्ग नजिकै पर्ने ऐनापहरामा रहेको झरनामा घुम्न आउने पर्यटक बढेसँगै गाउँपालिका यसको प्रवर्द्धनमा जुटेको अध्यक्ष शुक्र चुमानले जानकारी दिए । उनका अनुसार गत माघदेखि यहाँका ढुंगामा विभिन्न आकृति खोप्ने काम सुरु भएको थियो ।

‘यसै रहेका ढुंगालाई कलात्मक बनाएर पर्यटकलाई थप आकर्षित बनाउन यो कामलाई अगाडि बढाएका हौँ’, चुमानले भने, ‘यसले आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्नुका साथै पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिएका छौँ ।’ झरना झरेको ठाउँको ढुंगामा गणेशको आकृति बनाइएको छ भने झरना नजिकैको ढुंगामा आमा र बच्चा तथा परीको आकृति बनाइएको छ ।

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित ऐनापहरामा उद्यान निर्माणलाई अगाडि बढाइएको चुमानले जानकारी दिए । उनका अनुसार उद्यान निर्माणका लागि चालु आर्थिक वर्षमा एक करोड ४० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । उनले भने, ‘ऐनापहरालाई तनहुँको मात्र नभइ गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने सोच राखेका छौँ ।’

यस ठाउँलाई व्यवस्थित गर्न डीपीआर अनुसार १० करोड रुपैयाँ बजेट आवश्यक पर्छ । डीपीआरमा यहाँ बुद्धको मूर्ति, रेलिङ, पार्किङलगायतका संरचना निर्माण गर्ने उल्लेख छ ।