ट्रेन्डिङ

होटल अनुगमन र कारबाहीबारे हानको ध्यानाकर्षण

६ बैशाख २०८१, बिहीबार २३:५२

काठमाडौँ । होटल संघ नेपालले होटल अनुगमन र कारबाहीबारे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।

बिहीबार होटल संघ नेपाल (हान) को टोलीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग भेट गरी यस्तो गुनासो गरेको हो । हानका अध्यक्ष विनायक शाहको नेतृत्वमा टोलीले मन्त्री भण्डारी समक्ष वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले होटलमा अनुगमन गर्दा गलत व्याख्या गरेको गुनासो गरेको हो ।

ज्ञापनपत्रमा राज्यको नियम ऐन कानूनको पूर्ण पालना गर्दै सञ्चालित होटलहरुमा अनुगमनको नाममा अव्यावहारिक व्याख्या गरी कारबाही तथा जरिवाना भएको तथा तारे होटलहरुमा अखाद्य वस्तु रहेको जस्ता नकारात्मक समाचारहरु बारम्बार आइरहँदा विभागलाई समाचार प्रेषित गर्दा राष्ट्रिय पर्यटन उद्योगप्रति विश्वव्यापी रुपमा नकारात्मक सन्देश जाने र यस कार्यले नेपालको पर्यटन प्रवर्द्धनको गरिमामा समेत आँच आउनेबारे ध्यानाकर्षण गराइएको छ ।

सरकारबाट हुने निरीक्षण अनुगमनको सराहना गर्दै अझ यसलाई प्रभावकारी बनाउन एकलौटी ढंगबाट मात्र नभएर सरोकारवाला निकायसँगको समन्व्यमा हुन सके यस कार्य दीर्घकालीन हुने र अन्तर्राष्ट्रिय चेन तथा व्राण्ड लगायतका होटलहरुको सञ्चालन पनि व्यवस्थित प्रक्रिया बाट हुने हुँदा म्याद गुुज्रिएका सामानहरु उपभोक्ताहरुले उपभोग गर्ने खानामा प्रयोग नभइ यस्ता सामान आपूर्तिकर्ता कम्पनीलाई सोझै फिर्ता पठाइ सोधभर्ना गर्ने गरेको पनि ज्ञापनपत्रमा उल्लेख छ ।

अदालतमा समेत मुद्दा परी विचाराधीन रहेको विषयमा सरकारी क्रियाकलापहरु प्रचारमुखी नभइ संयमित ढंगबाट हुनका लागि समेत अनुरोध गर्दै यस्ता कार्यबाट अन्तर्राष्ट्रिय जगतमा नेपाल अखाद्य वस्तुको भण्डार भनी नकारात्मक प्रचारप्रसार भएको र यसबाट नेपाल आउने विदेशी पर्यटकहरुबाट बुकिङ रद्द समेत हुन सक्ने हुँदा आगामी दिनमा यस विषयमा समन्वय र सहकार्यको व्यवस्थाका लागि मन्त्रीसमक्ष आग्रह संघले आग्रहसमेत गरेको छ ।