© 2023-2024 सर्वाधिकार सुरक्षित hotelkhabar.com
बेनी। हिमाल आरोहण, पदयात्रा, तातोपानी कुण्ड स्नान, ग्रामीण संस्कृति, रहनसहन, धार्मिक, ऐतिहासिक, प्राकृतिक स्थल र पहाडी भूगोलको दृश्य अवलोकनका लागि म्याग्दी र मुस्ताङमा पर्यटक आउँछन्।
भारत र चीनलाई जोड्ने छोटो दूरीको कालीगण्डकी कोरिडोर सडक स्तरोन्नतिले तीव्रता पाएको र तिब्बतको सिमानामा रहेको कोरला नाका नियमित सञ्चालन गर्ने तयारीसँगै म्याग्दी हुँदै मुस्ताङ जोड्ने बेनी–जोमसोम–कोरला सडकमा पर्यटकका साथै व्यापारिक चहलपहल हुन थालेको छ।
पाहुनाको चाहनाअनुसार व्यवसायीले बेनी–जोमसोम–कोरला सडक आसपासमा करोडौं लगानीमा सुविधासम्पन्न होटल तयार गरेका छन्। म्याग्दीको बेनी, गलेश्वर, सिंगा तातोपानी, भुरुङ–तातोपानी, मुस्ताङको लेते, मार्फा, जोमसोम, मुक्तिनाथ, चराङ, लोमान्थाङमा पर्यटक लक्षित स्तरीय होटल खोलिएका हुन्।
होटलहरूले म्याग्दी र कालीगण्डकीमा पाइने असला माछा, स्थानीय जातको कुखुराको मासु, फापरको रोटी र ढिँडो, याकको सुकुटीजस्ता परिकार पनि उपलब्ध गराउँछन्। रैथाने सिमीको दाल, जंगली च्याउ, टुसाको तरकारी, गौरिया गुडुरा चामलको भात यहाँका होटलको विशेष परिकार हुन्। मुस्ताङ जाने आउने पाहुनालाई लक्षित गरेर बेनी–जोमसोम सडकका होटलमा लगानी, सुविधा र क्षमता बढेको होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ म्याग्दीका अध्यक्ष बाबुराम आचार्यले बताए। उनका अनुसार २ सय ५० होटल तथा रेस्टुरेन्ट व्यवसायी संघमा आबद्ध छन्।
बेनी र आसपासका क्षेत्रमा होटल व्यवसायमा मात्र पछिल्लो दुई वर्षयता एक अर्ब रुपैयाँभन्दा बढी लगानी थपिएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले बताए। पर्यटन तथा उद्योग कार्यालय म्याग्दीका अनुसार जिल्लाभर पाँच सयभन्दा बढी होटल तथा रेस्टुरेन्टमा २ अर्ब रुपैयाँभन्दा बढीको लगानी छ। एउटा ठूलो होटलमा १० देखि ५० जनासम्मले रोजगारी पाएका छन्।