ट्रेन्डिङ

अन्नपूर्ण क्षेत्रमा भित्रिए एक लाख ४४ हजार पर्यटक

४ बैशाख २०८१, मंगलवार ०१:०८

गण्डकी । पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध अन्नपूर्ण क्षेत्रमा चालु आर्थिक वर्षको नौं महिनामा एक लाख ४४ हजार छ सय ७५ विदेशी पर्यटक भित्रिएका छन्।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार गत साउनदेखि चैतसम्मको अवधिमा दक्षिण एसियाली मुलुकका ५९ हजार नौ सय ३९ र अन्य मुलुकका ८४ हजार सात सय ३६ पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका हुन्।

गत चैतमा मात्र दक्षिण एसियाली मुलुकका १६ हजार नौ सय ६९ र अन्य मुलुकका १८ हजार दुई ९६ गरी कूल ३५ हजार दुई सय ६५ विदेशी पर्यटक अन्नपूर्ण क्षेत्र घुम्न आएको आयोजना प्रमुख डा रविन कडरियाले जानकारी दिनुभयो। गत असोजमा २८ हजार सात सय पाँच पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए।

गत आवको वैशाखमा ३१ हजार नौ सय ५१ विदेशी पर्यटक अन्नपूर्ण क्षेत्र आएका थिए। असोज–कात्तिक र चैत–वैशाखको याम पदयात्रा पर्यटनका लागि सबैभन्दा उत्तम मानिन्छ। ‘एक्याप’का अनुसार सन् २०२३ मा एक सय ७३ देशका एक लाख ९१ हजार पाँच सय ५८ पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए। उक्त सङ्ख्या हालसम्मकै उच्च हो।

त्यसअघि सन् २०१९ मा एक लाख ८१ हजार पर्यटकले अन्नपूर्ण क्षेत्र घुमेका थिए। अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, मार्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानीलगायतका गन्तव्य छन्।