ट्रेन्डिङ

नयाँ वर्षमा पर्यटकले भरियो बन्दीपुर

४ बैशाख २०८१, मंगलवार ००:५१

तनहुँ। नयाँ वर्षको अवसरमा तनहुँको प्रमुख पर्यटकीय गन्तव्य बन्दीपुर पर्यटकले भरिभराउ भएको छ । नयाँ वर्ष मनाउन देशका विभिन्न स्थानबाट पर्यटक बन्दीपुर उक्लिएका हुन् ।

बन्दीपुरमा शुक्रबारदेखि ११औँ सडक खाना महोत्सवसमेत सुरु भएको छ । बन्दीपुरमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो रहेको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले जानकारी दिए । उनले भने, “नयाँ वर्ष मनाउन बन्दीपुर पर्यटकले खचाखच छ । हजारौँ पर्यटक नयाँ वर्ष मनाउन बन्दीपुर आउनुभएको छ । होटल पनि भरिभराउ छ ।” नयाँ वर्षमा घुम्ने संस्कृतिको विकास भएका कारण बन्दीपुरमा पर्यटक बढेका हुन् ।

बन्दीपुरको पर्यटन प्रवर्द्धनका लागि बन्दीपुर पर्यटन विकास समिति, क्षेत्रीय होटल सङ्घ, तनहुँ उद्योग वाणिज्य सङ्घ बन्दीपुर एकाइ र रेबान तनहुँको संयुक्त आयोजनामा सुरु सडक खाना महोत्सव वैशाख २ गतेसम्म सञ्चालन हुनेछ ।

अघिल्ला वर्ष कोरोनाका कारण पटकपटक ‘लकडाउन’ हुँदा निराश बनेका यहाँका पर्यटन व्यवसायीमा यतिबेला खुसी छाएको हो । “बाह्य पर्यटकको तुलनामा आन्तरिक पर्यटकको सङ्ख्या अधिक”, उनले भने, “स्वीजरल्याण्ड, जर्मनी र चाइनिजलगायतका देशका बाह्य पर्यटक आएका छन् ।”

पर्यटक आउने र जाने प्रक्रिया चलिरहेकाले महोत्सव अवधिभर करिब १० हजार पर्यटकले बन्दीपुर भ्रमण गर्ने अपेक्षा गरिएको उनले बताए ।

होटल व्यवसायीले पर्यटकलाई प्याकेजमा १५ प्रतिशतसम्म छुट दिने गरेका क्षेत्रीय होटल सङ्घकी अध्यक्ष सङ्गीता प्रधानले जानकारी दिए ।

चितवन, तनहुँ, पोखरा र काठमाडौँ घुम्नेगरी आन्तरिक पर्यटकले रुट मिलाएर आउने गरेका छन् । बन्दीपुरमा करिब ८० जना व्यवसायी सङ्घमा आबद्ध भएका छन् । महोत्सवले यहाँका होटल तथा घरबाससमेत भरिभराउ हुँदा छुट्टै रौनकता छाएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताए ।

महोत्सवमा लाखेनाच, टाकटुके, सोरठीलगायतका स्थानीय कला, संस्कृति प्रस्तुत गरी पर्यटकलाई भरपुर मनोरञ्जन प्रदान गरिएको उनले जानकारी दिए । बन्दीपुर तनहुँको सदरमुकाम दमौलीबाट १८ किलोमिटर दूरीमा पर्छ भने पृथ्वीराजमार्गस्थित डुम्रे बजारबाट करिब आठ किलोमिटरको उकालो यात्रा गरेपछि बन्दीपुर पुगिन्छ ।