पर्यटन खबर

पर्यटन राजधानी पोखरामा नयाँ वर्षको भव्य स्वागत

२ बैशाख २०८१, आईतवार ००:२७

पोखरा। नेपाली नयाँ वर्ष २०८१ को अवसरमा पोखरामा पर्यटकको घुइँचो लागेको छ । लेकसाइडका ८० प्रतिशतभन्दा बढी होटल एकदिनअगावै ‘अकुपेन्सी’ भएको होटल संघ पोखराले जनाएको छ ।

यहाँस्थित प्रमुख पर्यटकीय गन्तव्य फेवाताल किनारबाट शुक्रबार मध्यरातमा नयाँ वर्षको स्वागत गरिएको हो । नयाँ वर्ष २०८१ को स्वागत तथा २०८० को बिदाइका लागि लेकसाइडमा आन्तरिक तथा बाह्य पर्यटकको ठूलो भीड लागेको थियो । आतशबाजीसहित विभिन्न सांस्कृतिक कार्यक्रम गरेर सडकबाटै नयाँ वर्षलाई स्वागत गरिएको थियो ।

होटल सङ्घ पोखराले नेपाली नयाँ वर्ष मनाउनका लागि लेकसाइडको साढे तीन किलोमिटर सडकमा नववर्ष महोत्सव आयोजना गरेको थियो । महोत्सवमा रमाउँदै स्वदेशी तथा विदेशी पर्यटकले नयाँ वर्षलाई भव्य स्वागत गरेका हुन् । नयाँ वर्षको स्वागतका लागि राति अबेरसम्म पर्यटक लेकसाइडमा भरिभराउ थिए ।

नेपालीको मौलिक संस्कृति र खानालाई विशेष जोड दिएर आयोजना भएको फेवा महोत्सव बुधवारदेखि शुरू भइ वैशाख १ गतेसम्म चलिरहेको छ । बढीभन्दा बढी आन्तिरक पर्यटक भित्र्याउनका लागि आयोजना भएको महोत्सवमा होटलले २० प्रतिशतसम्म छुटसमेत दिएको छ । पोखराका पछिल्ला वर्षको तुलनामा यस पटक नयाँ वर्षमा पर्यटकको आगमन बढेको छ ।

पोखरा पर्यटन परिषद् अध्यक्ष पोमनारायण श्रेष्ठ नयाँ वर्षमा पर्यटकको आगमन देखेर उत्साही भएको सुनाउँछन् । ‘नयाँ वर्षले पनि होला पोखरामा पर्यटकको आगमन बाक्लिएको छ । आन्तरिक र बाह्य पर्यटक दुवै छन् । बाह्यमा भारतीय पर्यटकको आगमन तीव्ररुपमा बढेको छ ।

पोखरा–मुग्लिन सडकखण्ड अझै छिटो बन्यो भने पर्यटकको संख्या दोब्बर हुने श्रेष्ठको भनाइ छ । आन्तरिक पर्यटकहरूले पनि नयाँ वर्षमा पोखरा रोज्न थालेपछि पर्यटकको चाप बढेको उनी सुनाउँछन् ।