© 2023-2024 सर्वाधिकार सुरक्षित hotelkhabar.com
काठमाडौँ। नेपालमा स्टार (तारे) होटेलको मान्यता लिई सञ्चालनमा आएका होटेलहरूको संख्या अत्यन्त न्यून देखिएको छ ।
नेपालमा हालसम्म तारेस्तरको होटेलको मान्यता लिएर १ सय ८७ ओटा होटेल मात्रै सञ्चालनमा आएका छन् । यो संख्या १ तारादेखि ५ तारा स्तरका होटेलहरूको हो ।
विभागको तथ्यांकअनुसार यी सबैमा गरी ११ हजार २४ वटा कोठा र १७ हजार तीन सय २३ वटा बेड छन्। सरकारले नेपालको पर्यटन क्षेत्रमा सम्भावना देखेर प्राथमिकतामा राखेसँगै होटल व्यवसायमा लगानी बढेको होटल संघ नेपाल (हान) ले जनाएको छ।
बागमतीमा एक सय १७ वटातारे होटल छन्। जसमा सबैभन्दा धेरै, ३३ वटा एकतारे र सबैभन्दा कम, ८ वटा चारतारे होटल छन्। त्यस्तै दुईतारे ३१, तीनतारे २७, चारतारे १२ र पाँचतारे १२ वटा छन्। यी होटलमा कुल सात हजार एक सय ८४ वटा रूम छन्। एघार हजार ५८५ वटा बेड छन्।
दोस्रोमा लुम्बिनी प्रदेशमा सबभन्दा धेरै होटल छन्। यहाँ अहिलेसम्म २५ वटा तारे होटल बनिसके। जसमा तीनवटा एकतारे, चारवटा दुईतारे, तीनवटा तीनतारे, १२ वटा चारतारे र तीनवटा पाँचतारे छन्। यी होटलमा एक हजार चार सय ८० वटा रूम छन्। दुई हजार दुई सय ४९ वटा बेड छन्।
तेस्रोमा गण्डकी प्रदेश छ। गण्डकीमा अहिलेसम्म २२ वटा तारे होटल बनेका छन्। एकतारे तीनवटा, दुईतारे आठवटा, तीनतारे दुइटा, चारतारे सातवटा र पाँचतारे दुईवटा होटल छन्। यी सबैमा एक हजार ३८४ वटा रूम छन्। २ हजार ६३ वटा बेड छन्।
मधेस प्रदेशमा ११ वटा तारे होटल छन्। यो प्रदेशमा सबभन्दा धेरै, चारवटा दुईतारे होटल छन्। त्यस्तै एकतारे दुइटा, तीनतारे दुइटा, चारतारे दुइटा र पाँचतारे एउटा होटल छन्। जसमा चार सय ८६ वटा रूममा सात सय ७८ बेड छन्।
कोशी प्रदेशमा नौवटा तारे होटल छन्। यिनमा चार सय ९२ वटा रूम छन् भने सात सय ७८ वटा बेड छन्। कोशीमा एकतारे दुइटा, दुईतारे एउटा, तीनतारे दुइटा, चारतारे दुइटा र पाँचतारे एउटा होटल छन्। यो प्रदेशमा एक मात्र पाँचतारे डिलक्स होटल पनि छ। त्यो हो झापामा रहेको मेची क्राउन। सामान्यतया काठमाडौंमा डिलक्स होटल हुन एक सय ५० कोठा चाहिन्छ भने उपत्यकाबाहिर सय कोठा भए पुग्छ। मेची क्राउनमा एक सय एकवटा कोठा छन्।
कर्णाली प्रदेशबाट भने अहिलेसम्म कुनै पनि तारे होटल विभागमा दर्ता भएको छैन। थुप्रै पर्यटकीय गन्तव्यले भरिएको कर्णालीमा तारे होटल नभएको विभागले जनाएको छ।
यसबाहेक काठमाडौं उपत्यकामा चारवटा हेरिटेज बुटिक होटल सञ्चालनमा छन्। ती हुन्- होटल द्वारिका, इमिरो प्लाजा, पँबेरा, मनास्लु। मौलिक कला र संस्कृति झल्काउने खालका होटल बुटिक अन्तर्गत पर्छन्।