© 2023-2024 सर्वाधिकार सुरक्षित hotelkhabar.com
काठमाडौँ। भक्तपुर र ललितपुरको रमणीय संगमस्थल हो, लाँकुरी भञ्ज्याङ । २ हजार मिटरको उचाइमा रहेको लाँकुरी भञ्ज्याङ ललितपुरको ग्वार्कोबाट करिब १८ किलोमिटरको दूरीमा पर्छ ।
भञ्ज्याङको टुप्पोमा रहेको चर्चित ‘ दि टेरेसेस् रिसोर्ट एण्ड स्पा’ झण्डै १ अर्ब रुपैयाँ लगानी भएको यो रिसोर्ट काठमाडौंनजिक बस्न चाहने विलासी पर्यटकका लागि आकर्षक बनेको छ।
रिसोर्ट सञ्चालनमा आएसँगै पर्यटकीय तथा रमणीय स्थल लाँकुरी भञ्ज्याङ आन्तरिक तथा बाह्य पर्यटकको लागि सहज बन्ने बताइएको छ।नेपाल आउने विलासी पर्यटकहरुलाई राजधानीको निकट तथा शान्त वातावरणमा हिमालयको दृश्यावलोकन रिसोर्टको शयन कक्षबाटै देख्न सकिन्छ।
रिसोर्टबाट पूर्वमा सगरमाथादेखि पश्चिममा धवलागिरिसम्मका हिमश्रृंखलाका मनमोहक दृश्य देख्न सकिने जनाइएको छ। जसमा लाङटाङ हिमाल, जुगल, गौरीशंकर हिमाल समेतको दृश्यावलोकन गर्न सकिनेछ। सन् २०१४ देखि निर्माण सुरु भइ २०२१ देखि सञ्चालनमा आएको तथा करिब एक सय करोड लगानीमा खुलेको यो रिसोर्टमा २८ वटा स्यान्डर्ड, १६ वटा डिलक्स र २ वटा सुइट छन् । स्यान्डर्ड रुमको मुल्य २५ हजार नेपाली रुपैयाँदेखि सुरु हुन्छ भने डिलक्स रुम ३० हजार ५ सयदेखि सुरु छन् । सुइटको भने ६५ हजार नेपाली रुपैयाँ प्रति रात पर्छ ।
रुम अनुसार जकुज्जी र मिनी बारको सुविधा पनि होटलले दिइरहेको छ । यहाँ जानको लागि भने ठमेलमा रहेको यस रिसोर्टको सम्पर्क कार्यालयमा बुकिङ गर्नुपर्छ । ‘होटल बनाउँदा हामीले डोजर र अन्य हेभी इक्विपमेन्टको प्रयोग गरेनौँ । यहाँको भौगोलिक संरचना र अवस्था नबिगार्न हामीले पहाडमा खन्न पनि मानवीय स्रोतको प्रयोग गर्यौँ । पहाडको अवस्था नबिगारिकन त्यहीँ भिल्लाहरु बनायौँ । खेतको गरा जस्तै गरी रुमहरू तयार पारेका छौँ,’ शेर्पाले भने ।
करिब ४० रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टले वरिपरिको जग्गा पनि लिजमा लिएको छ । ४० वर्षको लागि लिजमा लिएर यो रिसोर्टको क्षेत्रफल करिब १०० एकड जमिनमा फैलिएको छ । आफ्ना पाहुनाहरूलाई अर्ग्यानिक खाना खुवाउनको लागि तरकारी र केही फलफूल खेती गरिएको छ ।
२००० मिटरको उचाइमा रहेको यो रिसोर्टमा कोइ फिस पोखरी पनि छ जसको डिलमा बसेर काठमाडौँको मनोरम दृश्य हेर्न तथा माछा पौडी खेलेको हेर्न सकिन्छ । अझ काठमाडौँ उपत्यका हेर्दा भिल्लाको छतमात्र देखिँदा पाहुनालाई खिन्न नहोस् भनेर छतमा पानी राखिएको छ । ‘आकाशको प्रतिविम्ब छतमा देखियोस् र हिमाल हेर्दा पनि काठमाडौँ उपत्यकामा रहेको कङ्क्रिटको जङ्गल नदेखियोस् बरु रिफ्लेक्सनले अझ मनमोहक बनाओस् भन्नको लागि हामीले छतमा पानी राखेका हौँ,’ उनको भनाई छ ।