पर्यटन खबर

पर्यटन ऐन तत्काल परिमार्जन गर्न आवश्यक: एमाले सांसद भट्टराई

२२ चैत्र २०८०, बिहीबार ००:२२

काठमाडौं। सत्तारूढ प्रमुख घटक नेकपा एमालेकी सांसद विद्या भट्टराईले पर्यटन ऐनलाई तत्काल परिमार्जन गर्न सरकारसँग माग गरेका छन्।

मंगलवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले पर्यटन ऐन, २०३० लाई तत्काल अध्यावधिक गरी समय सान्दर्भिक बनाउन सरकारलाई दबाब दिएकी हुन् । सांसद भट्टराईले पर्यटन रणनीतिक योजनाले प्रक्षेपण गरेको सन २०२५ सम्ममा नेपालमा आउने वार्षिक पर्यटनको संख्या २५ लाख २२ हजार पुर्याउने लक्ष्य पूरा हुनेगरी काम गर्न पनि सरकारलाई सचेत गराए । उनले पोखरालाई पर्यटकको राजधानी घोषणा गर्ने काम गरेकोमा सरकारप्रति आधार व्यक्त गर्दै त्यसको औचित्य पुष्टि हुनेगरी काम गर्न पनि आग्रह गरे ।

‘नेपालको कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको प्रत्यक्ष योगदान ४ प्रतिशत रहेको छ । पर्यटन रणनीतिक योजनाले सन् २०२५ सम्म नेपालमा आउने वार्षिक पर्यटकको संख्या २५ लाख २२ हजार पुग्ने तथा जिडिपिमा नौं प्रतिशत भन्दा योगदान पर्यटनको रहने प्रक्षेपण गरेको छ । पर्यटन विकासको खाका समेत तय गरेको छ । तर अहिलेसम्म पनि पर्यटन ऐन २०३० लाई हामीले परिमार्जन गर्न सकेका छैनौं । हाम्रो पहिलो काम आजको सन्दर्भमा सान्दर्भिक हुने गरी पर्यटन ऐन निर्माण गर्नु अनिवार्य छ ।’

सांसद भट्टराईले पर्यटन क्षेत्र नेपालको विकासका लागि अति उपयोगी हुने भएकाले पनि सरकारले त्यसको विकास विशेष जोड दिनुपर्ने बताएकि छन् ।