ट्रेन्डिङ

गुणस्तरहीन खाना बिक्री गरेको आरोपमा तीन होटल तथा रेस्टुरेन्टलाई नौ लाख जरिवाना

२८ फाल्गुन २०८०, सोमबार ०८:३१

काठमाडौँ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले म्याद गुज्रेका खाद्यवस्तु रिलेबलिङ गरेर बेच्ने तीन होटल तथा रेस्टुरेन्टलाई नौ लाख जरिवाना तिराएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ३ वटा होटल तथा रेस्टुरेन्टलाई जरिवाना गरेको हो । विभागका प्रवक्ता आनन्दराज पोखरेलले ठमेल, सुन्धारा र लाजिम्पाटका होटल र रेस्टुरेन्टलाई कारबाही गरेको जानकारी दिए ।

उनले नियमित अनुगमनका क्रममा कैफियत भेटिएपछि ठमेलको होटललाई ३ लाख जरिवाना गरेको बताएका छन्  । यस्तै, सो होटलले रिलेबलिङ गरेको वा गुणस्तरहीन वस्तुको मूल्य हेरफेर गरेको पाइएको थियो ।

यसक्रममा ९ हजार २०९ रुपैयाँ बराबरको म्याद गुज्रेको खाद्यवस्तुको नष्ट समेत गरिएको छ । यस्तै, सुन्धराको होटलले समेत रिलेबलिङ गरेको पाइएपछि ३ लाख जरिवाना गरिएको विभागले जनाएको छ । यसबाहेक, लाजिम्पाटको होटलले समेत रिलेबलिङ गरेको वस्तु बिक्री वितरण गरेको पाइएपछि ३ लाख रुपैयाँ जरिवाना तिराइएको विभागले जनाएको छ ।