© 2023-2024 सर्वाधिकार सुरक्षित hotelkhabar.com
काठमाडौं। भारतको सीमावर्ती क्षेत्रबाट उल्लेख्यमात्रामा भारतीय पर्यटकले नेपाल भ्रमण गर्ने र गत वर्षको तुलनामा सङ्ख्या पनि दोब्बरले वृद्धि हुने नेपाली तथा भारतीय पर्यटन व्यवसायीहरुले आकलन गरेका छन् ।
भारतीय र नेपाली पर्यटन व्यवसायीहरुबीच लखनउमा सम्पन्न नेपाल प्रवर्द्धनात्मक कार्यक्रममा यस्तो प्रतिवद्धता जनाइएको छ । होटल संघ नेपालका अध्यक्ष विनायक शाहको नेतृत्वमा अयोध्या र लखनउ गएको ६० सदस्यीय नेपाली प्रतिनिधिमण्डल कार्यक्रम सम्पन्न गरी स्वदेश फर्किएको छ ।
जनकपुर र अयोध्यालाई जोडेर बढी भन्दा बढी भारतीय पर्यकटलाई नेपाल भित्राउन यही गएको मार्च ३ देखि ७ सम्म लखनउमा पर्यटन प्रवर्द्धन कार्यक्रम गरेको संघको भनाई छ ।
लखनउ, कानपुरलगायतका क्षेत्रका ५० भन्दा बढी टूर अपरेटर र पर्यटन व्यवसायी उपस्थित सो कार्यक्रममा शाहले नेपाल विवाह र माइस पर्यटनका लागि उपयुक्त गन्तव्य रहेको बताएका थिए । यसका लागि पर्याप्त संरचना तयारी अवस्थामा रहेको उनले बताए ।
शाहले पर्यटकहरुलाई मौलिक खानाहरु खुवाएर नेपाल भ्रमण स्मरणीय बनाइने पनि बताए । उनले नेपालको धार्मिक तथा प्रमुख पर्यटकीय गन्तव्यहरुलाई समेटेर हिन्दी भाषामा तयार गरिएको प्रवर्द्धनात्मक पुस्तक वितरण गरिएको थियो ।