पर्यटन खबर

एकीकृत पर्यटन सूचना केन्द्रको उद्घाटन

२५ फाल्गुन २०८०, शुक्रबार ०८:१५

काठमाडौँ। कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं.-८, वीरेठाँटीमा एकीकृत पर्यटन सूचना केन्द्रको उद्घाटन भएको छ ।

गण्डकी प्रदेश सरकार तथा गाउँपालिकाको संयुक्त लागत साझेदारीमा ६० लाख लगानीमा स्थापना गरिएको केन्द्रको गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर केसीले बुधवार आयोजित एक समारोहका बिच उद्घाटन गरेका हुन् ।

केन्द्रको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले अन्नपूर्णले गण्डकी प्रदेशकै नमुना कार्य थालनी गरेको दाबी गर्दै यो सँगै पालिकाको पर्यटन क्षेत्रको विकासमा सार्थकता मिल्ने औँल्याए । उनले एकीकृत सूचना पर्यटन केन्द्र स्थापनाका लागि जग्गा दिने जग्गा दाता प्रति आभार प्रकट गर्दै नयाँ पदमार्गको खोजीमा पालिका रहेको पनि स्पष्ट पारे ।

विश्वकै उत्कृष्ट अन्नपूर्ण पदयात्रा मार्गको उत्कृष्टतालाई कायम राख्दै गाउँपालिकाको प्राकृतिक सम्पदा र परम्परागत कला तथा सांस्कृतिक सम्पन्नतालाई विश्व पर्यटक समक्ष प्रचार, प्रसार र प्रवर्द्धन गरी पर्यटन क्षेत्रको विकासमा नवीनता थप्न तथा एकीकृत पर्यटन व्यवसायलाई सुरक्षित, भरपर्दो र विश्वसनीय बनाउँदै पर्यटनको माध्यमबाट गाउँपालिकामा रोजगारीको अवसर सृजना गर्न एकीकृत पर्यटन सूचना केन्द्रको स्थापना र व्यवस्थापन गर्न लागिएको अध्यक्ष केसीको भनाई छ ।